अदालतले छाड्यो, प्रहरीले छोडेन: ओली–लेखकमाथि अनुसन्धान जारी

साझा लाल्टिन संवाददाता

४ वैशाख, काठमाडौं,

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक हिरासतबाट रिहा भए पनि उनीहरूमाथिको अनुसन्धान प्रक्रिया भने अझै जारी रहेको प्रहरीले स्पष्ट पारेको छ।

१३ दिनसम्म हिरासतमा बसेपछि रिहा भएका यी दुई नेतामाथि पुरानो मुद्दाको फाइल पुनः सक्रिय पारेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन्। उनका अनुसार यसअघि तामेलीमा राखिएका निवेदनमध्ये एउटा निवेदन पुनः खोल्दै तथ्य–प्रमाण संकलनको काम भइरहेको छ।

जेनजी आन्दोलनसँग जोडिएको उक्त घटनामा परेका निवेदनहरू २७ असोजमा सरकारी वकिलको निर्णयअनुसार थन्क्याइएको थियो। तर अहिले तीमध्ये एक मुद्दालाई पुनर्जीवित गरी अनुसन्धानलाई तीव्रता दिइएको हो। प्रहरीले सीसीटीभी फुटेज विश्लेषण, प्रत्यक्षदर्शीको बयान, लासजाँच मुचुल्का र पोस्टमार्टम रिपोर्ट लगायतका आधारमा प्रमाण जुटाइरहेको जनाएको छ।

यस घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा बनेको आयोगले आफ्नो प्रतिवेदनमा ओली र लेखकलाई जिम्मेवार ठहर गर्दै कारबाही सिफारिस गरेको थियो। सोही सिफारिस कार्यान्वयन गर्ने निर्णयपछि गत चैतमा उनीहरू पक्राउ परेका थिए।

यद्यपि सर्वोच्च अदालतको आदेशपछि उनीहरू हाजिरी जमानीमा रिहा भएका हुन्। यस निर्णयप्रति गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि जनाउँदै अदालतको भूमिकामाथि टिप्पणीसमेत गरेका छन्।

उल्लेखित मुद्दा २३–२४ भदौको जेनजी आन्दोलनसँग सम्बन्धित हो, जहाँ सुरक्षाकर्मीको गोली लागेर दर्जनौं नागरिकको ज्यान गएको थियो। सो घटनामा लापरबाही र बल प्रयोग नियन्त्रण नगरेको आरोपमा उनीहरूविरुद्ध मुलुकी फौजदारी संहिताअनुसार कारबाही सिफारिस गरिएको हो।

प्रतिक्रिया