संसदीय दलको नेता छान्दै नेपाली कांग्रेस: केसी र आङ्देम्बे मुख्य दाबेदार

साझा लाल्टिन संवाददाता

४ वैशाख, काठमाडौं,

नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि निर्वाचन समितिले पार्टीका सबै सांसदहरूलाई छलफलमा सहभागी हुन आह्वान गरेको छ।

निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार दिउँसो ३ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बस्नेछ। सोही बैठकले दलको नेता चयनको दिशा तय गर्ने अपेक्षा गरिएको छ।

दलको नेताका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका छन्। यद्यपि मोहन आचार्य र निश्कल राईलगायत अन्य नेताहरूको नाम पनि चर्चामा छ। प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद रहेका छन्।

कांग्रेसले सकेसम्म सहमतिमै नेता चयन गर्ने प्रयास गरिरहेको छ। तर सहमति जुट्न नसकेमा निर्वाचनमार्फत टुंगो लगाउने तयारी गरिएको छ। केसीले आफ्नो दाबी कायम राखिरहेका बेला उपसभापति विश्वप्रकाश शर्माले उनलाई विश्राम लिन सार्वजनिक आग्रह गरिसकेका छन्।

उता आङ्देम्बेले भने दलको नेताको विषयमा पार्टीभित्र गम्भीर छलफल भइरहेको र आजकै बैठकपछि निष्कर्ष निस्कने बताएका छन्। पछिल्लो समय आङ्देम्बे पार्टी सभापति गगन थापाको पक्षमा देखिएका छन्, जबकि उनी पहिले शेरबहादुर देउवा समूहसँग नजिक मानिन्थे।

यसबीच पार्टीभित्र प्रत्यक्ष निर्वाचित र युवा नेताहरूलाई दलको नेतृत्वमा ल्याउनुपर्ने दबाब पनि बढ्दो छ।

प्रतिक्रिया