४ वैशाख, काठमाडौं,
सर्वोच्च अदालतले अदालतको अवहेलना सम्बन्धी मुद्दामा प्रधानमन्त्री बालेन शाहलाई वारेसमार्फत तारिखमा उपस्थित हुने सुविधा दिएको छ । न्यायाधीश हरि फुयाल र शान्तिसिंह थापाको इजलासले शाहको तर्फबाट वारेसले समेत तारिख लिन सक्ने व्यवस्था मिलाएको हो ।
यसअघि यस्तो सुविधा नपाएका शाहले अब मुद्दाको तारिखका दिन व्यक्तिगत रूपमा उपस्थित हुनुपर्ने बाध्यता नरहने भएको छ ।
तीन वर्षदेखि सर्वोच्चमा विचाराधीन रहेको यो अवहेलना मुद्दा तत्कालीन मेयर शाहले उच्च अदालत पाटनको अन्तरिम आदेशपछि सामाजिक सञ्जालमा गरेको टिप्पणीसँग सम्बन्धित छ । उक्त आदेशले सिनेमा हलहरूमा हिन्दी फिल्म रोक्ने निर्णयलाई असर पारेको थियो । त्यसपछि अधिवक्ता वर्षा झाले सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दायर गरेकी थिइन् ।
17 April 2026