भण्डारी भेट्न पुगे एमाले नेताहरूको ठूलो समूह

साझा लाल्टिन संवाददाता

४ वैशाख, काठमाडौं,

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निकट मानिने सचिव भानुभक्त ढकालको नेतृत्वमा २४ वटै जनसंगठनका अध्यक्षसहितको ठूलो प्रतिनिधिमण्डलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको छ ।

बानेश्वरस्थित भण्डारीको सम्पर्क कार्यालयमा पुगेको उक्त टोलीमा अखिल नेपाल किसान महासंघ, अनेरास्ववियु, अखिल नेपाल महिला संघ, युवा संघ, नेपाल उद्योग व्यवसाय महासंघ, नेपाल खेलकुद महासंघ, नेपाल बुद्धिजीवी परिषद् लगायत एमालेका प्रमुख जनसंगठनका नेतृत्वकर्ताहरू सहभागी थिए ।

भेटमा आगामी दिनमा दिवंगत एमाले नेता तथा भण्डारीका पति मदन भण्डारीको स्मृतिमा मनाइने हीरक जयन्तीलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा छलफल भएको बताइएको छ ।

२००९ साल असार १४ गते जन्मिएका मदन भण्डारीको २०५० साल जेठ ३ गते दासढुंगा दुर्घटनामा निधन भएको थियो । उनको योगदानको स्मृतिमा मनाइने हीरक जयन्तीका अवसरमा विभिन्न कार्यक्रम तय गर्ने तयारी भइरहेको बुझिएको छ ।

प्रतिक्रिया