गरिबीको सजाय: ज्यान जोगियो, तर बिल तीर्न नसक्दा अस्पतालमै ‘बन्धक’ शिव

साझा लाल्टिन संवाददाता

४ वैशाख, काठमाडौं,

सिन्धुलीको दुधौली नगरपालिका–७ पोखरेका १७ वर्षीय शिव सदा विगत एक सातादेखि विराटनगरस्थित एक निजी अस्पतालको बेडमा छन् । विष सेवनपछि गम्भीर अवस्थामा पुर्‍याइएका उनलाई उपचारले नयाँ जीवन त दियो, तर उपचार खर्च तिर्न नसक्दा उनी अहिले पनि अस्पतालबाट बाहिर निस्कन सकेका छैनन् ।

२७ चैत साँझ आमा मघिया सदा र श्रीमती कृतिकाले अटोमा राखेर कटारी अस्पताल पुर्‍याएका शिवको अवस्था बिग्रँदै गएपछि उनलाई कोशी अस्पताल रिफर गरिएको थियो । तर त्यहाँ अक्सिजन अभावको कारण अन्यत्र लैजान सुझाव दिइएपछि अन्ततः उनी निजी अस्पताल पुर्‍याइए ।

उपचार सुरु भएको दुई दिनमै शिवको स्वास्थ्यमा सुधार आयो । परिवारले राहत महसुस गर्‍यो । तर अस्पतालले करिब १ लाख ३० हजार रुपैयाँ बिल तिर्नुपर्ने बताउँदै डिस्चार्ज रोकिदिएपछि त्यो राहत तुरुन्तै पीडामा बदलियो ।

आर्थिक अभावले थिचिएको परिवारका लागि उक्त रकम जुटाउनु असम्भवजस्तै बन्यो । उपचारकै क्रममा औषधि किन्न आमा मघियाले आफ्नो मोबाइलसमेत १५ सय रुपैयाँमा धितो राख्नुपर्‍यो । त्यसपछि बाँकी रकम जुटाउन उनी गाउँ फर्किन सोमबार विराटनगरबाट हिँडिन् । तर भाडा नहुँदा पैदलै हिँडेकी उनी तीन दिन बितिसक्दा पनि सम्पर्कविहीन छन् ।

करिब ३०० किलोमिटर टाढा घरतर्फ पैदल हिँडेकी आमाको अवस्था अज्ञात रहँदा परिवार थप चिन्तित बनेको छ ।

उता अस्पतालमै रहेका शिवका आफन्तमाथि थप मानसिक दबाब परेको छ । पैसा नतिरे बिरामीलाई असर पर्न सक्ने भन्दै अस्पतालका कर्मचारी बताउने व्यक्तिबाट बारम्बार फोनमार्फत धम्की आएको शिवकी सासु भीम सरिया सदाले बताइन् । हालसम्म गाउँबाट ऋण गरेर २० हजार रुपैयाँ पठाइए पनि बाँकी रकम जुटाउने कुनै स्पष्ट उपाय छैन ।

‘हामीजस्ता गरिब र दलितले के गर्ने ? उपचार नगरे ज्यान जाने, उपचार गरेपछि पैसा तिर्न नसके अस्पतालमै थुनिनुपर्ने ?’ भन्दै उनी प्रश्न गर्छिन् ।

उनका अनुसार सरकारी अस्पतालले समयमै प्रभावकारी उपचार गरेको भए निजी अस्पताल धाउनु पर्ने अवस्था नै आउँदैनथ्यो । “राज्यकै अस्पतालले नहेरेपछि हामी बाध्य भएर निजीमा गयौँ, अहिले झन् ठूलो समस्यामा परेका छौँ,” उनले भनिन् ।

यस घटनाले नेपालमा स्वास्थ्य सेवामा रहेको असमान पहुँच, आर्थिक विभेद र निजी क्षेत्रको कमजोर नियमनलाई फेरि एकपटक उजागर गरेको छ । अस्पताल पक्षसँग प्रतिक्रिया लिन प्रयास गरिए पनि सम्पर्क हुन सकेको छैन ।

प्रतिक्रिया