काठमाडौँ । २२ वटा कम्युनिष्ट तथा समाजवादी घटक एकीकृत भई बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । ‘तारा’ चुनाव चिन्हसहित चुनावी मैदानमा उत्रिएको नेकपाले सुशासन, रोजगारी र समाजवादको तयारीलाई मुख्य एजेन्डा बनाउँदै राज्य सञ्चालनमा आमूल परिवर्तन गर्ने घोषणा गरेको छ ।
पार्टीले राजनीतिक अस्थिरताको अन्त्यका लागि शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिमार्जन गर्ने, मन्त्रिपरिषद् २५ जनामा सीमित गर्ने र सांसदलाई विधायकी भूमिकामा मात्र केन्द्रित गर्ने प्रस्ताव गरेको छ । भ्रष्टाचार नियन्त्रणका लागि २०४६ सालयता सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने र भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने प्रतिबद्धता जनाएको छ ।
आर्थिक मोर्चामा पाँच वर्षभित्र १० प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्ने, प्रतिवर्ष ५ लाख रोजगारी सिर्जना गर्ने र बहुआयामिक गरिबी ५ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ । कृषि लगानी दशक घोषणा गर्दै दुई वर्षमै खाद्यान्न आत्मनिर्भरता, किसान पेन्सन, समर्थन मूल्य र भूमिहीनलाई लालपुर्जा वितरण गर्ने योजना अघि सारिएको छ ।
स्वास्थ्य र शिक्षा पूर्णरूपमा निःशुल्क बनाउने, २०८८ सम्म शतप्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने, ‘एक पालिका एक स्मार्ट विद्यालय’ लागू गर्ने र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने नीति घोषणापत्रमा समेटिएको छ ।
पूर्वाधारतर्फ १५ हजार मेगावाट विद्युत् उत्पादन, पूर्व–पश्चिम राजमार्ग चार लेन, काठमाडौं मेट्रो रेल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने लक्ष्य राखिएको छ । साथै, सामाजिक न्याय, समावेशिता, संघीयताको प्रभावकारी कार्यान्वयन र राष्ट्रिय हित केन्द्रित परराष्ट्र नीति अपनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।