गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच शिष्टाचार भेट, नागढुंगा टनेलदेखि विपद् सहकार्यसम्म छलफल

साझा लाल्टिन संवाददाता

काठमाडौं - गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका राजदूत मायदा तोरु बीच मंगलबार गृहमन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल–जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण तथा ऐतिहासिक सम्बन्ध, द्विपक्षीय सहयोग र आगामी सहकार्यका विविध विषयमा सारगर्भित छलफल भएको बताइएको छ।

भेटका क्रममा राजदूत तोरुले गृहमन्त्री गुरुङलाई सफल कार्यकालको शुभकामना दिँदै जापान सरकारले नेपालको आर्थिक–सामाजिक विकासमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे। साथै आगामी दिनमा द्विपक्षीय सहकार्यलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा पनि कुराकानी भएको थियो।

गृहमन्त्री गुरुङले निर्माणाधीन नागढुंगा टनेल मार्ग परियोजना सहित विभिन्न पूर्वाधार तथा विकास आयोजनाको प्रगतिप्रति चासो व्यक्त गर्दै यस्ता परियोजनाले नेपालको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताए।

भेटमा विपद् जोखिम न्यूनीकरण, प्रतिकार्य, क्षमता अभिवृद्धि र अनुभव आदानप्रदान का क्षेत्रमा नेपाल–जापानबीच थप प्राविधिक सहकार्य आवश्यक रहेको विषयमा पनि जोड दिइएको छ। गृहमन्त्री गुरुङले नेपालमा विपद् व्यवस्थापनसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि विश्वविद्यालय स्थापना गर्न जापानको प्राविधिक सहयोग र ज्ञान हस्तान्तरण आवश्यक रहेको धारणा राखेका छन्।

त्यसैगरी जापानमा शिक्षा, रोजगारी तथा अन्य क्षेत्रमा अवसर पाइरहेका नेपाली नागरिकप्रति जापानी सरकारको सकारात्मक नीतिको प्रशंसा गर्दै गृहमन्त्रीले धन्यवाद ज्ञापन गरेका थिए। जवाफमा राजदूत तोरुले नेपाली समुदाय जापानी समाजमा सहज रूपमा समाहित भई आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा प्रभावकारी योगदान पुर्‍याइरहेको उल्लेख गर्दै नेपाल–जापान आवागमन सहकार्यलाई अझ व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे।

भेटवार्तामा पर्यटन क्षेत्रलाई द्विपक्षीय सहकार्यको महत्वपूर्ण आधार बनाउने विषयमा समेत छलफल भएको थियो। विशेषगरी लुम्बिनी क्षेत्रको दिगो पर्यटन विकास र नेपालको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा दुई मुलुकबीच रणनीतिक साझेदारी आवश्यक रहेको गृहमन्त्रीले बताएका छन्।

अन्त्यमा दुवै पक्षले नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै आगामी दिनमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।


प्रतिक्रिया