कांग्रेस–एमाले–नेकपाको संयुक्त बैठक सुरु, संसदीय समितिमा साझा उम्मेदवारको तयारी

साझा लाल्टिन संवाददाता

३ वैशाख, काठमाडौं, 

संसदीय समितिका सभापतिको निर्वाचन नजिकिँदै गर्दा विपक्षी दलहरूबीच रणनीतिक छलफल तीव्र भएको छ। सभापतिको उम्मेदवार उठाउने वा नउठाउने भन्ने विषयमा निर्णय गर्न नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपाका नेताहरूको संयुक्त बैठक सुरु भएको हो।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा अर्जुननरसिंह केसी, युवराज दुलाल, गुरुप्रसाद बराल, भीष्म आङदेम्बेलगायत शीर्ष नेताहरू सहभागी छन्। बैठकले संसदीय समितिको सभापतिमा साझा उम्मेदवारी दिने विषयमा अन्तिम निर्णय गर्ने बताइएको छ।

संयुक्त छलफलमा सहभागी एक नेताले भने, “उम्मेदवारी दिनुपर्छ, जित–हार त संसदीय प्रक्रियाको स्वाभाविक पक्ष हो।”

आजै संसदीय समितिका सभापतिहरूका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता हुने संघीय संसद सचिवालयले जनाएको छ। मनोनयन सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा दर्ता गरिनेछ भने साढे ४ बजे उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिनेछ।

संघीय संसद अन्तर्गत १६ वटा संसदीय समिति छन्, जसमध्ये प्रतिनिधिसभा अन्तर्गत १०, राष्ट्रिय सभा अन्तर्गत ४ र २ वटा संयुक्त समिति रहेका छन्। राष्ट्रिय सभातर्फका समितिका सभापतिहरू यसअघि नै चयन भइसकेका छन् भने प्रतिनिधिसभा र संयुक्त समितिका १२ सभापतिको निर्वाचन अझै बाँकी छ।

यसअघि चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिका सदस्यहरू टुंग्याएको थियो। सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार निर्वाचनको मिति तोकेका थिए।

प्रतिक्रिया