गृहमन्त्री सुधन गुरुङ र कोरियाली राजदूतबीच शिष्टाचार भेट, सुरक्षा–लगानी सहकार्य विस्तारमा जोड

साझा लाल्टिन संवाददाता

काठमाडौं - माननीय गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि गणतन्त्र कोरियाका महामहिम राजदूत पार्क ताय योङबीच बिहीबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

भेटका क्रममा राजदूत पार्कले गृहमन्त्री गुरुङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। छलफलमा नेपाल–कोरियाबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, नेपालको आर्थिक–सामाजिक विकासमा कोरिया सरकारले पुर्‍याउँदै आएको सहयोग तथा आगामी दिनमा दुईपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विशेष जोड दिइएको थियो।


गृहमन्त्री गुरुङले शिक्षा र रोजगारीका लागि कोरिया जाने नेपाली नागरिकको स्वास्थ्य, सुरक्षा तथा स्वदेश फिर्तीका विषयमा कोरिया सरकारको सकारात्मक नीतिको प्रशंसा गर्दै यस क्षेत्रमा थप सहकार्यको अपेक्षा व्यक्त गरे। जवाफमा राजदूत पार्कले नेपालीहरू अनुशासित, मेहनती र कोरियाली समाजमा सहज रूपमा घुलमिल भई विभिन्न क्षेत्रमा योगदान गरिरहेको बताए।

भेटवार्तामा कोरिया सरकारको सहयोगमा नेपाल प्रहरीको साइबर ब्युरोलाई भौतिक पूर्वाधार र साधनस्रोत सम्पन्न बनाउने काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै गृहमन्त्रीले धन्यवाद ज्ञापन गरे। साथै भीड नियन्त्रण र नागरिक सुरक्षाका लागि नेपाल प्रहरीलाई आवश्यक सुरक्षा सामग्री तथा उपकरण उपलब्ध गराउन दुई देशबीच सहकार्यको प्रस्ताव पनि राखिएको छ।

गृहमन्त्रीले नेपालमा कोरियाली लगानीमा सञ्चालित उद्योग–व्यवसाय र लगानीकर्ताको सुरक्षाप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारे। साथै बौद्ध संस्कृतिको प्रवर्द्धन र लुम्बिनीको अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि नेपाल–कोरिया साझेदारी आवश्यक रहेको विषयमा पनि जोड दिएका छन्।

भेटको अन्त्यमा दुवै पक्षले नेपाल–कोरियाबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुमधुर, मजबुत र परिणाममुखी बनाउँदै सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया