३ वैशाख, काठमाडौं,
नेकपा (एमाले) का प्रभावशाली नेता सुरेन्द्र पाण्डेले पछिल्लो समय फेरि चर्चामा आएको ‘वाम एकता’को प्रयासप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। उनले स्पष्ट वैचारिक आधार र निश्चित राजनीतिक गन्तव्यबिना गरिने कुनै पनि एकताले पार्टीलाई दीर्घकालीन रूपमा फाइदा नपुर्याउने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पाण्डेले नेतृत्व संकट परेका बेला वा व्यक्तिगत राजनीतिक अस्तित्व जोगाउनका लागि मात्रै गरिने एकता पार्टी हितमा नहुने बताएका हुन्। विगतमा पद र शक्तिको समीकरणका लागि भएका एकताको अनुभव तीतो रहेको उल्लेख गर्दै उनले अहिलेको दौडधुप पनि त्यही प्रवृत्तिको पुनरावृत्ति भएको संकेत गरेका छन्।
उनले एमालेलाई ऐतिहासिक विरासत बोकेको बलियो राजनीतिक शक्ति भन्दै तात्कालिक सत्ता लाभका लागि पार्टीको मौलिक सिद्धान्त कमजोर बनाउने काम गर्न नहुने बताएका छन्। वैचारिक स्पष्टता र साझा लक्ष्यबिना गरिने एकताले अन्ततः पार्टीको मूल मूल्य, मान्यता र पहिचानलाई कमजोर बनाउने उनको ठहर छ।
पाण्डेले पार्टीलाई मजबुत बनाउने सही बाटो सत्ताको जोडघटाउ होइन, सुशासन, विधि र संगठनात्मक पुनर्निर्माण भएको बताएका छन्। उनले विशेष गरी दक्ष, क्षमतावान् र नयाँ पुस्ताका युवाहरूलाई पार्टीमा आकर्षित गर्न नसकिए एमाले झन् साँघुरिँदै जाने खतरा औँल्याए।
विगतमा सिद्धान्तविहीन एकताको बेला मौन बस्नु आफ्नो कमजोरी भएको स्वीकार्दै उनले अब पनि चुप लाग्नु गम्भीर भूल हुने चेतावनी दिएका छन्। पार्टीलाई सत्ता–स्वार्थको घेराबाट बाहिर निकालेर परिणाममुखी नेतृत्वसहित नयाँ दिशामा अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन्।