फेरि जनतालाई महँगोको झट्का : पेट्रोल २१९, ग्यास २०१० - आजैदेखि नयाँ मूल्य लागू

साझा लाल्टिन संवाददाता


काठमाडौं - महँगीले थलिएको जनतालाई नेपाल आयल निगमले फेरि एकपटक ठूलो झट्का दिएको छ। निगमले पेट्रोलियम पदार्थको मूल्यमा एकैचोटि भारी वृद्धि गर्दै आजैदेखि नयाँ दर लागू गरेको हो।

अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल २०७ रुपैयाँ कायम भएको छ। खाना पकाउने एलपी ग्यास पनि १०० रुपैयाँले बढेर २०१० रुपैयाँ पुगेपछि भान्सा खर्च थप चर्किने भएको छ।

निगमका अनुसार पेट्रोलमा १७ रुपैयाँ, डिजेल–मट्टितेलमा २५–२५ रुपैयाँ, र आन्तरिक हवाई इन्धनमा ६ रुपैयाँ बढाइएको हो।

मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य उकालो लागेको भन्दै निगमले मूल्य समायोजन गरेको जनाएको छ। तर मूल्य बढेपछि सर्वसाधारणले भने ‘अब कसरी बाँच्ने?’ भन्दै सामाजिक सञ्जालमा तीव्र असन्तुष्टि पोख्न थालेका छन्।

सरकारले करमा ५० प्रतिशत छुट दिँदा पनि निगमको घाटा नघटेपछि मूल्य बढाउनुपरेको दाबी गरिएको छ। निगमका अनुसार अहिले पनि हरेक १५ दिनमा करिब १० अर्ब २१ करोड रुपैयाँ घाटा भइरहेको छ।

अब पेट्रोल, ग्यास र डिजेलको यो नयाँ मूल्यले बजारभाउदेखि सार्वजनिक यातायातसम्म सबै क्षेत्रमा थप असर पर्ने अनुमान गरिएको छ।



प्रतिक्रिया