२७ चैत,काठमाडौं - औषधिको मूल्य अनधिकृत रूपमा बढाइएको आरोपपछि औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल कारबाहीमा परेका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको निर्णयअनुसार उनलाई बिहीबार राति स्वास्थ्य मन्त्रालय तानिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा परेको उजुरीपछि यो कदम चालिएको बताइएको छ। प्रधानमन्त्री कार्यालयले औषधि मूल्यवृद्धि प्रकरणमा गम्भीर छानबिन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिँदै तीन सदस्यीय विज्ञसहितको छानबिन समिति गठन गर्न स्वास्थ्य सचिव विकास देवकोटालाई आदेश दिएको छ।
प्रधानमन्त्री कार्यालयले सात दिनभित्र स्पष्ट प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। प्रतिवेदनमा औषधिको मूल्य किन र कसरी बढाइयो, मूल्य निर्धारणको प्रक्रिया के थियो, र अनियमिततामा कस–कसको संलग्नता छ भन्ने सबै विवरण खुलाउन भनिएको छ।
यो विषय केही दिनअघि प्रतिनिधिसभामा समेत चर्किएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले प्रतिनिधिसभामा औषधिको अनधिकृत मूल्यवृद्धिबारे प्रश्न उठाउँदै अरबौँ रुपैयाँको घोटाला हुनसक्ने आशंका व्यक्त गरेका थिए।
महालेखा परीक्षकको प्रतिवेदनलाई आधार बनाउँदै उनले औषधि व्यवस्थापनमा गम्भीर अनियमितता भएको दाबी गरेका छन्। यससँगै औषधि मूल्यवृद्धि प्रकरणले अब राजनीतिक र प्रशासनिक दुवै तहमा ठूलो तरंग पैदा गरेको छ।