२७ चैत,काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने माध्यमका रूपमा सीमित गरेर हेर्न नहुने भन्दै त्यसलाई देशको ‘आर्थिक इन्जिन’ का रूपमा लिनुपर्ने बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्ती (७५ औँ वर्ष) समारोहलाई सम्बोधन गर्दै उनले निजी क्षेत्र राष्ट्र निर्माणको बलियो साझेदार भएको उल्लेख गरे। “निजी क्षेत्र बलियो भए मात्र अर्थतन्त्र बलियो हुन्छ,” भन्दै उनले आर्थिक समृद्धिमा चेम्बरले खेलेको भूमिकाको खुलेर प्रशंसा गरे।
राष्ट्रपति पौडेलले कोभिड महामारी, आपूर्ति श्रृङ्खलामा आएको अवरोध र उत्पादनमा आएको गिरावटले अर्थतन्त्रमा चुनौती थपिएको उल्लेख गर्दै यस्तो बेला सरकार–निजी क्षेत्र सहकार्य अझ मजबुत हुनुपर्ने बताए।
उनले मुलुकको भविष्य युवा पुस्ताको हातमा रहेको भन्दै प्रतिभा पलायन रोक्न स्वदेशमै रोजगारी, उद्यम र अवसर सिर्जना गर्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको धारणा राखे। उद्यमशीलता, प्रविधि र सृजनशीलतामार्फत युवालाई आर्थिक गतिविधिमा जोड्नुपर्ने उनको जोड थियो।
परम्परागत सोच तोडेर नवप्रवर्तन, डिजिटल अर्थतन्त्र, हरित विकास र स्टार्टअप संस्कृतितर्फ अघि बढ्नुपर्ने बताउँदै उनले दीर्घकालीन औद्योगिक विकासका लागि स्पष्ट नीति र स्थिर सरकार अपरिहार्य रहेको उल्लेख गरे।
राष्ट्रपति पौडेलले राजनीतिक स्थिरतालाई आर्थिक समृद्धिको आधार मान्दै स्थिर सरकार, स्पष्ट नीति र दीर्घकालीन रणनीतिले मात्रै लगानी विस्तार, उद्योग विकास र रोजगारी सिर्जनाले गति लिने बताए।