२७ चैत,काठमाडौं - सरकारले सातामा दुई दिन सार्वजनिक बिदा लागू गरेपछि स्वास्थ्य सेवा प्रभावित नहोस् भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूलाई आइतबार पनि ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
मन्त्रालयले दुई बुँदे निर्णय सार्वजनिक गर्दै अस्पतालहरूलाई आफ्नो वर्कलोड र उपलब्ध जनशक्ति हेरेर आइतबार ओपिडी खुला राख्न भनेको हो। सेवा सञ्चालनका क्रममा खटिने कर्मचारीलाई शनिबारबाहेक अर्को एक दिन बिदा दिने, र तत्काल बिदा दिन नसकिए सट्टा बिदाको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, यो व्यवस्था संघीय अस्पतालमा मात्रै सीमित नरही प्रादेशिक अस्पतालहरूमा पनि लागू गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको छ।
मध्यपूर्वमा बढ्दो तनावका कारण सम्भावित इन्धन संकट व्यवस्थापन गर्न सरकारले हालै सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। मन्त्रिपरिषद्को उक्त निर्णय चैत २२ गते राजपत्रमा प्रकाशित भएसँगै लागू भएको हो।
10 April 2026