२७ चैत,काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई आफन्तवाद र भनसुनको राजनीतिबाट टाढा रहन कडा निर्देशन दिएका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकमा उनले सांसदहरूलाई आफन्त, साथीभाइ वा निकटका व्यक्तिलाई नियुक्ति दिलाउने दबाब नदिन स्पष्ट सन्देश दिएका हुन्।
बैठकमा बोल्दै लामिछानेले रास्वपा अहिलेको स्थानमा पुग्नु नयाँ पुस्ता अर्थात् ‘जेनजी’ पुस्ताको विश्वास, त्याग र बलिदानको परिणाम भएको स्मरण गराए। उनले सांसदहरूलाई जनताले राखेको आशा र भरोसालाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्दै पुरानो शैलीको शक्ति–दुरुपयोग दोहोरिन नहुने बताए।
“हामी यहाँ जेनजी भाइबहिनीको बलिदान र भरोसाबाट आएका हौँ, त्यसलाई कहिल्यै बिर्सनु हुँदैन,” लामिछानेको भनाइ उद्धृत गर्दै एक सांसदले बताए।
बैठकमा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन शाह सहभागी भए पनि उनले कुनै धारणा राखेनन्।
यसैबीच, बैठकले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबी ठाकुरलाई समर्थन गर्ने औपचारिक निर्णय समेत गरेको छ। रास्वपाकै समर्थनमा उम्मेदवारी दर्ता गराएकी ठाकुरको पक्षमा मतदान गर्ने निर्णय बैठकले सर्वसम्मत रूपमा गरेको बताइएको छ। उपसभामुखको निर्वाचन आजै हुँदैछ।