स्वकीय सचिव फेरि ब्युँताउने तयारी, “नाथे स्वकीय सचिव” भन्दै हर्क साम्पाङ आक्रोशीत

साझा लाल्टिन संवाददाता

२ वैशाख, काठमाडौं,

सांसदहरूलाई स्वकीय सचिव (पिए) राख्ने सुविधा पुनः ब्युँताउने तयारीप्रति विरोध चर्किएको छ ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले यस निर्णयप्रति कडा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले सांसदहरूले स्वकीय सचिव राख्ने व्यवस्था आर्थिक रूपमा अत्यन्तै महँगो पर्ने दाबी गरेका छन् । उनका अनुसार मासिक ३० हजार रुपैयाँ तलबका आधारमा मात्र पनि वार्षिक करोडौँ रुपैयाँ राज्यकोषबाट खर्च हुने देखिन्छ । उनले व्यङ्ग्य गर्दै “नाथे स्वकीय सचिव” भन्ने अभिव्यक्तिसमेत लेखेका छन् ।

यसैबीच संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले सांसद तथा पदाधिकारीका लागि स्वकीय सचिवको योग्यता निर्धारण गर्दै व्यवस्था पुनः व्यवस्थित गर्ने प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । बैठकको अध्यक्षता सभामुख डोल प्रसाद अर्यालले गरेका थिए । समितिले आवश्यक कानुनी व्यवस्था गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।

यसअघि पूर्व सरकार सुशीला कार्की नेतृत्वमा हुँदा मितव्ययिता र अनुत्पादक खर्च कटौतीका नाममा सांसदहरूको स्वकीय सचिव सुविधा खारेज गरिएको थियो । उक्त निर्णयअनुसार संघीय संसद पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७३ को अनुसूची संशोधन गरी सुविधा हटाइएको थियो ।

तर पछिल्ला दिनमा पुनः स्वकीय सचिव व्यवस्था फर्काउने तयारी भएपछि यसलाई लिएर बहस चर्किएको छ । यस विषयमा संसदभित्र र बाहिर दुवै पक्षमा समर्थन र विरोधका धारणा सार्वजनिक भइरहेका छन् ।

प्रतिक्रिया