एमसीसी सम्झौता आश्चर्यजनक नाटक : खनाल

साझा लाल्टिन संवाददाता

काठमाण्डौ ८ भदौ - पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन र संविधानको भावना विपरित रहेको टिप्पणी गरेका छन्  ।

आज काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै खनालले नेपालको संसदबाट अनुमोदन भई कार्यान्वयनको चरणमा रहेको उक्त सम्झौता राष्ट्रिय हित विपरित रहेको बताएका हुन् । दक्षिण एसियामा अमेरिकी सुरक्षा रणनीतिलाई अघि बढाउने उपकरणका रुपमा खनालले एमसीसी सम्झौतालाई अर्थ्यका छन् । 

सम्झौताले चीन र भारतसँग नेपालको भू–राजनीतिक सन्तुलनमाथि गम्भीर असर पुर्याएको उनको भनाइ छ । त्यसैकारण संसदबाट असामान्य ढंगबाट अनुमोदन भएको समेत खनालले उल्लेख गरेका छन्  । 

संसदमा छलफल नै नगरी एमसीसी पास गरिएको भन्दै खनालले यसलाई आश्चर्यजनक नाटकको संज्ञा दिए । त्यसक्रममा लोकतान्त्रिक मूल्य मान्यताको उल्लङ्घन गरिएको पूर्वप्रधानमन्त्री खनालले दाबी गरे  । 

राजनीतिक दलहरूको दोहोरो भूमिकाका कारण यस्तो स्थिति पैदा भएको जनाउँदै उनले विद्यार्थी, युवा र बुद्धिजीविहरूले राष्ट्रवादी अडान राखेका कारण दुःख भोग्नुपरेको पनि बताए  । एमसीसी सम्झौताले नेपाललाई भारतसँग मात्र विद्युत व्यापार गर्न बाध्य पार्ने उल्लेख गर्दै यसले भारतीय एकाधिकार बलियो बनाउने खतरा रहेको टिप्पणी गरे  ।

एमसीसी सम्झौता कार्यान्वयनबारे अस्पष्टता रहेको र संसदमा समेत यसबारे कुनै चर्चा नहुनु आश्चर्यजनक रहेको खनालले दोहोर्याए  । यसबारे पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई चुनौती दिने कुनै पनि प्रावधान स्वीकार्य नहुने स्पष्ट पारे ।

प्रतिक्रिया