१८ मंसिर, काठमाडौं - क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालकाे केन्द्रीय समिति बैठकले आसन्न चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ। पार्टी महासचिव गौरवद्वारा जारी विज्ञप्ति अनुसार मंसिर १६ र १७ गते बसेको पूर्ण बैठकले वर्तमान राजनीतिक, आर्थिक र सामाजिक परिस्थिति विश्लेषण गर्दै चुनावमा नजानुको औपचारिक घोषणा गरेको हो।
विज्ञप्तिमा उल्लेख भएअनुसार, देशमा सत्ता गठबन्धन र प्रतिपक्ष- दुबै असफल भई जनताको आधारभूत समस्याप्रति उदासीन बनेको, भ्रष्टाचार, दण्डहीनता, बेरोजगारी, सीमा समस्या र राष्ट्रिय सार्वभौमिकताप्रति गम्भीर चुनौतिहरू बढ्दो अवस्थामा रहेको पार्टीको निष्कर्ष छ। यस्तो परिस्थितिमा चलिरहेको चुनावी प्रक्रिया “जनताका समस्याबाट ध्यान हटाउने सत्ता- दलहरूको खेल मात्र” भएको पार्टीको आरोप छ।
पार्टीले संविधान, संसद र सम्पूर्ण राज्य संयन्त्रले सामाजिक न्याय, समता र वैज्ञानिक समाजवादतर्फको मार्ग अवरुद्ध गरेको भन्दै चुनावलाई “निष्ठुर व्यवस्थाको पुनःवैधता दिने औजार” को रुपमा चित्रण गरेको छ। गौरवले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “चुनावले जनताका वास्तविक समस्याको समाधान गर्दैन, यसले केवल असफल नेतृत्वलाई पुनःजीवन दिन्छ। हामी नयाँ जनवादी क्रान्तिको दिशामा वैज्ञानिक कार्यक्रमसहित अघि बढ्छौँ।”
पार्टीले जनसत्तात्मक, गणतन्त्रवादी, क्रान्तिकारी जनवाद र वामपन्थी शक्तिहरूबीच राष्ट्रिय राजनीतिक समन्वय गरी व्यापक मोर्चा निर्माण गर्ने, जनआन्दोलित कार्यक्रम अघि बढाउने र जनसहभागितामा आधारित संघर्षलाई तीव्र पार्ने बताएको छ।
यसैक्रममा, केन्द्रीय समितिको बैठकले पार्टीलाई चुनाव बहिष्कार सम्बन्धी नीति स्पष्ट रूपमा अघि बढाउन सम्पूर्ण संरचना, जनसंगठन तथा समर्थकहरूलाई निर्देशन जारी गरेको छ।
महासचिव गौरवले अन्त्यमा भनेका छन् - “चुनावको नाममा जनतामाथि पुनःप्रहार हुन नदिन हामी बहिष्कारको नीति र क्रान्तिकारी यात्रालाई अझ सशक्त रूपमा अघि बढाउँछौँ।”