काठमाडौं - प्रधानमन्त्रीले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका समानुपातिक सांसदहरूसँग भोलि बुधबार अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ। उक्त कार्यक्रम मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने जनाइएको छ।
कार्यक्रममा सहभागी माननीय सांसदहरूले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा सम्भावित समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्नेछन्। यसले विभिन्न समुदाय र क्षेत्रका मुद्दाहरू सरकारसमक्ष सिधै राख्न महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
सरकारका अनुसार उक्त अन्तरक्रियाको मुख्य उद्देश्य जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गर्दै नीति निर्माण तथा कार्यान्वयन प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ।
कार्यक्रमलाई सुशासन, उत्तरदायित्व र जनमुखी शासन प्रणाली सुदृढ गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। साथै, यसले सांसदहरूको अनुभव र सुझावलाई सरकारी योजनामा समेट्न सहयोग पुग्ने विश्वास गरिएको छ।