दाइजो लेनदेन भएको विवाह बहिष्कार गर्ने उपसभामुख ठाकुरको घोषणा

साझा लाल्टिन संवाददाता

३ वैशाख, काठमाडौं,

उपसभामुख रुवि कुमारी ठाकुरले अबदेखि दाइजो लेनदेन हुने कुनै पनि विवाह समारोहमा सहभागी नहुने स्पष्ट घोषणा गरेकी छन्। विवाहको सिजन चलिरहेका बेला आफूलाई आएका धेरै निमन्त्रणापत्रमा ‘दहेज मुक्त विवाह’ भन्ने सन्देश नदेखिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत गम्भीर चिन्ता व्यक्त गरेकी हुन्।

उनले समाज अझै पनि दाइजो जस्तो घातक कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको उल्लेख गर्दै अब आफ्नो उपस्थितिले यस्ता अभ्यासलाई वैधता नदिन चाहेको बताएकी छन्। दाइजो लिनु वा दिनु मात्र होइन, यस्तो लेनदेनमा आधारित विवाह स्वीकार गर्नु, कार्यक्रममा सहभागी हुनु वा भोज खानु समेत सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास भएको उनको भनाइ छ।

उपसभामुख ठाकुरका अनुसार दाइजो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष चोट पुर्‍याउने भएकाले यसको अन्त्य व्यवहारबाटै सुरु हुनुपर्छ। समाज परिवर्तनका ठूला भाषणभन्दा व्यक्तिगत व्यवहारमा सुधार नै वास्तविक सामाजिक रूपान्तरणको आधार हुने उनको जोड छ।

उनले अब विवाहका निमन्त्रणापत्र पठाउँदा अनिवार्य रूपमा
‘दहेज मुक्त विवाह’

‘दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो’
भन्ने स्पष्ट सन्देश राख्न सबैलाई आग्रह गरेकी छन्।

यस्तो सन्देश नभएका वा दाइजो लेनदेन पुष्टि हुने विवाहमा आफू सहभागी हुन नसक्ने बताउँदै उनले समानता, सम्मान र सभ्य संस्कारमा आधारित विवाह संस्कृतिलाई प्रोत्साहन गर्न सबैलाई साथ दिन अपिल गरेकी छन्।

दाइजोमुक्त समाज निर्माणका लागि हरेक नागरिकले आफ्नो ठाउँबाट ठोस कदम चाल्नुपर्ने उल्लेख गर्दै उनले यो अभियानलाई साझा सामाजिक आन्दोलन बनाउन आह्वान गरेकी छन्।

प्रतिक्रिया