३ वैशाख, काठमाडौं,
नेकपा एमाले कीर्तिपुर नगर कमिटीभित्र असन्तुष्टि चुलिँदै गएको छ । गत आमनिर्वाचनमा पार्टीले व्यहोरेको लज्जास्पद हारको नैतिक जिम्मेवारी लिँदै युवा नेताहरूले धमाधम राजीनामा दिने क्रम सुरु भएको छ।
हालसम्म नगर कमिटीका राजकमल महर्जन, निकेश महर्जन, रुपेश बास्कोटा, यादवप्रसाद सेढाइँ र सोमप्रसाद मानन्धरले आफ्नो पदबाट राजीनामा बुझाइसकेका छन् । स्रोतका अनुसार अन्य धेरै युवा नेता–कार्यकर्ता पनि राजीनामाको तयारीमा छन्, जसले नगर कमिटीभित्रको संकट अझ गहिरिने संकेत देखिएको छ।
सचिवालय सदस्य यादवप्रसाद सेढाइँले सामाजिक सञ्जालमार्फत राजीनामा सार्वजनिक गर्दै २०५४ सालमा लिएको पार्टी सदस्यता नै खारेज हुने गरी सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्। उनको यो कदमले कीर्तिपुर एमालेभित्रको असन्तुष्टि खुला विद्रोहमा बदलिएको चर्चा सुरु भएको छ।
नगर कमिटी अध्यक्ष चिनकाजी श्रेष्ठको नेतृत्व क्षमतामाथि नै प्रश्न उठाइएको छ। पार्टीभित्रैबाट “विना क्षमता नेतृत्व दिँदा चुनावी परिणाम ओरालो लाग्यो” भन्ने आरोप चर्किएको छ। अध्यक्ष श्रेष्ठ एमाले नेता सानु श्रेष्ठका भान्जा भएकाले नेतृत्व चयनमा नातावाद हाबी भएको टिप्पणीसमेत भइरहेको छ।
कीर्तिपुरमा एमालेको अवस्था २०७९ सालको स्थानीय तह निर्वाचनदेखि लगातार कमजोर बन्दै आएको बताइन्छ। त्यसयता पार्टीभित्र टिकट वितरण र नेतृत्व शैलीलाई लिएर असन्तुष्टि बढ्दो छ। विशेषगरी गत निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको जोडबलमा विनोद श्रेष्ठलाई टिकट दिइएको भन्दै स्थानीय नेता–कार्यकर्ता रुष्ट बनेका थिए।
यस घटनाले कीर्तिपुर एमालेभित्र नेतृत्व संकट, टिकट राजनीति र युवा असन्तुष्टिको विस्फोट एकैपटक सतहमा आएको विश्लेषण गरिएको छ।