एकै रातमा समाप्त गर्न सक्छौं - ट्रम्पको इरानलाई कडा चेतावनी

साझा लाल्टिन संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा अभिव्यक्ति दिएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत “आज राति एउटा पूरै सभ्यता समाप्त हुन सक्छ” भन्दै चेतावनी दिएका हुन्।

हर्मुज जलसन्धि (Strait of Hormuz) खुलाउन दिइएको समयसीमा सकिन लाग्दा यस्तो अभिव्यक्ति आएको हो । उक्त जलसन्धि विश्व ऊर्जा आपूर्तिको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले इरानका ऊर्जा संरचना र पुलहरू लक्षित कारबाही हुन सक्ने दोहोर्‍याए। उनले “इरानलाई एकै रातमा समाप्त गर्न सकिन्छ” भन्ने चेतावनी समेत दिएका थिए।

यता, इरानले अमेरिकी दबाब अस्वीकार गर्दै आफ्नो धैर्यता समाप्त भइसकेको जनाएको छ। उसले अमेरिका र उसका सहयोगी राष्ट्रहरूलाई समेत निशाना बनाउने चेतावनी दिएको छ। साथै, अस्थायी युद्धविरामको प्रस्ताव पनि इरानले अस्वीकार गरेको बताइएको छ।

अहिलेसम्म वार्ता जारी रहे पनि कुनै ठोस निष्कर्ष निस्किएको छैन। दुवै पक्षबीचको बढ्दो तनावले क्षेत्रीय तथा विश्व राजनीतिमा गम्भीर प्रभाव पार्ने आकलन गरिएको छ।

ट्रम्पले ट्रुथ सोसलमा के लेखेका थिए ? 

ट्रम्पले लेखेका छन्, 'आज राति एउटा पूरै सभ्यता समाप्त हुनेछ, जसलाई फेरि कहिल्यै फर्काउन सकिने छैन । म यस्तो होस् भन्ने चाहन्नँ, तर सायद यस्तै हुनेछ । यद्यपि, अब जब हाम्रो यहाँ पूर्ण सत्ता परिवर्तन भएको छ–  जहाँ फरक, अधिक समझदार र कम कट्टर सोचका व्यक्तिहरू हाबी छन् – तब सायद केही धेरै शानदार र क्रान्तिकारी हुन सक्छ । कसलाई थाहा ? हामीलाई आज राति थाहा हुनेछ । जो विश्वको लामो र जटिल इतिहासको सबैभन्दा महत्त्वपूर्ण क्षणहरूमध्ये एक हो । ४७ वर्षको जबरजस्ती, भ्रष्टाचार र मृत्युको सिलसिला अन्ततः समाप्त हुनेछ । इरानका महान् जनतामाथि ईश्वरको कृपा रहोस् !

प्रतिक्रिया