विदेशी ऋण लिने निर्णयप्रति हर्कराज राईको विरोध

साझा लाल्टिन संवाददाता


काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले सरकारले हालै गरेको विदेशी ऋण लिने निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ‘डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्ट’ का लागि ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको थियो। सो निर्णयप्रति प्रतिक्रिया दिँदै अध्यक्ष राईले विदेशी ऋण घटाउनुपर्ने अवस्थामा उल्टै थप ऋण लिनु गलत भएको बताएका छन्।

उनले सरकारले विदेशी ऋण लिएर डिजिटल क्षेत्रमा लगानी गर्नुभन्दा नागरिकका आधारभूत आवश्यकतामा ध्यान दिनुपर्ने धारणा राखे। देशको दीगो विकासका लागि उत्पादन क्षेत्रमा प्राथमिकता दिन आवश्यक रहेको उनको भनाइ छ।

राईले सरकारको यस्तो कदमले आर्थिक भार थप्ने भन्दै उक्त पुनर्विचार गर्न आग्रहसमेत गरेका छन्। 


प्रतिक्रिया