बलेमाथि सार्वजनिक शान्ति भंगको मुद्दा, हिरासतमा राखेर अनुसन्धान सुरु

साझा लाल्टिन संवाददाता

२२ चैत,काठमाडौं -शनिबार कपन, बालुवाखानीस्थित घरबाट कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्। उनी हाल जिल्ला प्रहरी परिसर, भद्रकालीमा हिरासतमा छन्। प्रहरीले उनीमाथि तत्काल सार्वजनिक शान्तिविरुद्धको कसुर लाग्ने भन्दै अनुसन्धानको म्याद थप गरेको छ।

यसअघि अमेरिका बस्दै आएकी संगम बिष्टले सामाजिक सञ्जालमा बलेमाथि आफूलाई जबरजस्ती करणीको प्रयास गरेको आरोप लगाएकी थिइन्। तर, प्रहरीका अनुसार अहिलेसम्म यस्तो कसुरमा औपचारिक जाहेरी दर्ता भएको छैन

काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले बताए अनुसार, अहिले सार्वजनिक शान्ति भंगको आरोपमा अनुसन्धान भइरहेको छ। यदि अनुसन्धानको क्रममा नयाँ तथ्य वा अन्य मुद्दासम्बन्धी जाहेरी प्राप्त भए, त्यसअनुसार कारबाही अगाडि बढाइनेछ।

फौजदारी अपराध संहिताको दफा २ अनुसार, नेपाली नागरिकमाथि नेपाली नागरिकले गरेको अपराध भए पनि वारदात जहाँ भए पनि नेपालमा मुद्दा दर्ता गर्न सकिन्छ त्यसैले, बलेविरुद्धको मुख्य मुद्दा पीडित वा सरोकारवालाले जाहेरी दर्ता गरेपछि मात्रै अघि बढ्नेछ।

एसएसपी थापाले भने, “अहिलेका लागि सार्वजनिक शान्तिविरुद्धको मुद्दामा अनुसन्धान भइरहेको छ र बलेको सुरक्षा सुनिश्चित गर्न हिरासतमा राखिएको हो। अन्य मुद्दा अगाडि बढाउन भने रितपूर्वक जाहेरी आवश्यक छ।”

प्रतिक्रिया