७३ रोपनी जग्गा र आर्थिक कारोबारमा छानबिन, देउवा निवासमा प्रहरी हस्तक्षेप

साझा लाल्टिन संवाददाता

१५ चैत,काठमाडौं सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका परिवारसँग सम्बन्धित सम्पत्तिमाथि अनुसन्धान प्रक्रिया तीव्र बनाएको छ। यस क्रममा देउवा परिवारका सदस्यहरूको सम्पत्ति विवरण संकलन गर्ने काम अघि बढाइएको बताइएको छ।

अनुसन्धानकै बीच बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा भइरहेको घर भत्काउने कार्य प्रहरीले रोकेको छ। प्रमाण नष्ट हुन सक्ने आशंकाका कारण उच्चस्तरीय निर्देशनपछि उक्त काम तत्कालका लागि स्थगित गरिएको स्रोतले जनाएको छ।

यसअघि नै अस्वाभाविक तथा गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको आरोपमा देउवा परिवारविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो। पछिल्लो समय प्राप्त सूचना र प्रमाणहरूलाई आधार मानेर अनुसन्धानलाई थप विस्तार गरिएको बुझिएको छ।

स्रोतका अनुसार, पछिल्लो एक–डेढ वर्षभित्र जयवीर देउवा लगायत नजिकका व्यक्तिहरूका नाममा करिब ७३ रोपनी जग्गा खरिद गरिएको विवरण पनि संकलन गरिएको छ। त्यस्तै,  प्रदीपशम्सेर जबरा र भुषण राणा लगायतका व्यक्तिहरूबाट विभिन्न खातामा भएको आर्थिक कारोबारबारे पनि अनुसन्धान भइरहेको जनाइएको छ।

अनुसन्धानमा आरजु राणा देउवाको नाम समेत जोडिएको केही प्रकरणहरू—जस्तै नक्कली भुटानी शरणार्थी प्रकरण तथा नेपाल टेलिकमको बिलिङ अनियमितता सम्बन्धी विवाद—लाई पनि समेटिएको छ।

प्रहरी स्रोतका अनुसार, देउवा परिवारले एउटै कम्पाउण्डभित्र निर्माण गरेका दुई वटा बंगालो सम्बन्धी विषयमा समेत पहिलेदेखि नै उजुरी परेकाले त्यसतर्फ पनि ध्यान दिइएको छ। हाल क्षतिग्रस्त संरचना हटाउने काम भइरहे पनि अनुसन्धानमा असर पर्न सक्ने भन्दै प्रहरीले हस्तक्षेप गरेको हो।

प्रतिक्रिया