१६ चैत,काठमाडौं - नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अझै चर्किँदै गएको छ। पार्टीको आधिकारिकता सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहँदा, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समानान्तर गतिविधि तीव्र बनाएका छन्।
खड्काले चैत १७ र १८ गते १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक बोलाएका छन्। त्यसको भोलिपल्ट, चैत १९ गते, धुम्बराहीस्थित स्मार्ट पार्टी प्यालेसमा जिल्ला सभापतिहरूको छुट्टै भेला आयोजना गर्ने तयारी गरिएको एक नेताले बताएका छन्।
पार्टीभित्र नेतृत्व विवादकै बीच कांग्रेस चुनावमा गएको थियो। तर चुनावमा भएको कमजोर प्रदर्शनपछि, विशेषगरी सभापति गगन थापा नेतृत्वप्रति असन्तुष्टि बढेको देखिन्छ। यही असन्तुष्टिलाई आधार बनाएर शेरबहादुर देउवा निकट समूहले आफ्नै ढंगले गतिविधि अगाडि बढाइरहेको बताइन्छ।
यसअघि पनि खड्काको संयोजनमा शेखर कोइराला लगायतका नेताहरूले अलग-अलग छलफल गर्दै आएका थिए। पार्टीभित्र समानान्तर गतिविधि बढ्दै गएपछि नेपाली कांग्रेसले अनुशासन समितिको बैठक समेत बोलाएको छ।
त्यसैबीच, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्रीको पक्राउको विरोधमा खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेपछि विवाद थप उत्कर्षमा पुगेको छ। देउवा पक्षले अझैसम्म गगन थापालाई औपचारिक रूपमा सभापति स्वीकार नगरेको बताइएको छ।