माननीय बाबुराम गौतमको दूरदर्शी पहलमा ककनी मन्दिरसम्म कालोपत्रे सडक, ओखलढुंगाको पर्यटन विकासमा ऐतिहासिक उपलब्धि

साझा लाल्टिन संवाददाता


काठमाडौं - ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकास्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल ककनी मन्दिरसम्म पुग्ने नवलपुर–ककनी कालोपत्रे मोटर बाटो योजना कोशी प्रदेशका पूर्व सभामुख तथा ओखलढुंगा क्षेत्र नं. ‘ख’ का माननीय बाबुराम गौतमको दूरदर्शी सोच, निरन्तर पहल र दृढ नेतृत्वका कारण मूर्त रूप लिन सफल भएको छ


वर्षौँदेखि उपेक्षित रहँदै आएको ककनी क्षेत्रको पहुँच सुधारलाई प्राथमिकतामा राख्दै माननीय गौतमले संघ र प्रदेश सरकारस्तरमा निरन्तर दबाब, समन्वय र पहल गरेपछि यो बहुवर्षीय सडक योजना स्वीकृत भई ठेक्का प्रक्रियासमेत सम्पन्न भएको हो। अहिले सडकको डबल कटिङ तथा  नाली निर्माण कार्य नवलपुर बाट सुरु भएको छ भने, कालोपत्रे कार्य छिट्टै सुरु हुने जनाइएको छ।

नवलपुरबाट सुरु भई पलापु, चम्पादेवी गाउँपालिका केन्द्र, भागे, चित्रे, पोखरे, फलाटे भञ्ज्याङ हुँदै ककनी मन्दिरसम्म पुग्ने यो सडक पूर्ण रूपमा कालोपत्रे हुने भएपछि ओखलढुंगाको क्षेत्र नं. ‘ख’ मा पहिलो पटक व्यापक कालोपत्रे सडक सञ्जाल विस्तारको ढोका खुलेको छ।

ककनी मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक तथा पर्यटकीय गन्तव्य भए पनि कच्ची मोटर बाटोका कारण वर्षेनी लाखौँ श्रद्धालु तथा पर्यटकले ठूलो सास्ती भोग्दै आएका थिए। यही यथार्थलाई गहिरो रूपमा बुझ्दै माननीय गौतमले जनताको आवश्यकता र क्षेत्रको सम्भावनालाई केन्द्रमा राखेर यो योजनालाई उच्च प्राथमिकता दिएको बताइएको छ।

“काम गर्नुपर्ने क्षेत्र धेरै छन्, तर ककनी जस्तो अन्तर्राष्ट्रिय महत्व बोकेको स्थलसम्म सुरक्षित र सहज पहुँच नहुँदा पर्यटन विकास अवरुद्ध भएको थियो। त्यसैले यस योजनालाई विशेष प्राथमिकतामा राखिएको हो,” माननीय गौतमले बताएका छन्।

सडक निर्माण सम्पन्न भएपछि ककनी मन्दिर क्षेत्र धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको प्रमुख केन्द्रका रूपमा स्थापित हुने विश्वास गरिएको छ। योजनापछि वार्षिक दश लाखभन्दा बढी पर्यटक भित्रिने अपेक्षा गरिएको छ, जसले स्थानीय रोजगारी, व्यवसाय र समग्र ओखलढुंगाको आर्थिक विकासमा ऐतिहासिक योगदान पुर्‍याउने स्थानीयवासीको विश्वास छ।

स्थानीयवासीहरूले लामो समयदेखिको माग पूरा गरिदिएको भन्दै माननीय बाबुराम गौतमप्रति हार्दिक आभार व्यक्त गर्दै यो योजना ओखलढुंगाको विकास यात्रामा कोसेढुंगा सावित हुने बताएका छन्।

प्रतिक्रिया