२० चैत,काठमाडौं - प्रतिनिधि सभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएपछि अब उपसभामुख कसलाई बनाउने भन्ने विषय राजनीतिक वृत्तमा चासोको केन्द्र बनेको छ। तर, सभामुख जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म उपसभामुखबारे कुनै औपचारिक निर्णय गरेको छैन।
संविधानअनुसार सभामुख र उपसभामुख एउटै दलबाट हुन नपाउने भएकाले रास्वपाले अब अन्य दललाई समर्थन गर्नुपर्ने बाध्यता छ। यही कारणले उपसभामुखको पद कसले पाउने भन्ने विषयमा विभिन्न दलबीच चासो र दाबी बढ्न थालेको छ।
रास्वपाका सभापति रवि लामिछानेले भने अहिले आफूहरू उपसभामुखको विषयमा प्रवेश नगरेको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पहिले सभामुखको प्रक्रिया टुंग्याउने र त्यसपछि मात्रै उपसभामुखबारे छलफल सुरु हुने स्पष्ट पारे।
उता, सभामुखमा उम्मेदवारी नदिएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भने उपसभामुखमा आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन्। कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रमुख प्रतिपक्षी दलको हैसियतले आफ्नो दाबी स्वाभाविक भएको बताएका छन्।
त्यस्तै, नेकपाका सांसद रमेश मल्लले पनि उपसभामुखमा आफ्नो पार्टीको दाबी रहने स्पष्ट पारेका छन्।
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टी मध्ये कुनै एक दललाई रास्वपाले समर्थन गर्न सक्ने चर्चा पनि चलेको छ। राप्रपाकी सांसद खुस्बु वलीको नाम पनि सम्भावित उम्मेदवारका रूपमा बाहिरिए पनि पार्टीभित्र औपचारिक प्रस्ताव भने आएको छैन।
राजनीतिक विश्लेषकहरूका अनुसार रास्वपाले उपसभामुख चयन गर्दा केवल शक्ति बाँडफाँट मात्र नभई संवैधानिक परिषद्मा पर्ने प्रभावलाई समेत ध्यानमा राख्नेछ। उक्त परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ।
हाल राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल छन् भने प्रमुख प्रतिपक्षी दलको नेता कांग्रेसबाट हुने निश्चित जस्तै देखिन्छ। त्यसैले रास्वपाले उपसभामुख चयन गर्दा परिषद्मा आफ्नो अनुकूल शक्ति सन्तुलन कायम रहने गरी रणनीति बनाउने तयारी गरिरहेको बुझिन्छ।