२० चैत,काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टीभित्र देखिएको पछिल्लो असन्तुष्टि र विवादबीच एकता र सिद्धान्तप्रति प्रतिबद्धता अपरिहार्य भएको बताएका छन्।
उनले पार्टीको ऐतिहासिक यात्रालाई स्मरण गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थापना कालदेखि नै कठिन परिस्थितिमा संघर्ष गर्दै सुदृढ बन्दै आएको उल्लेख गरे। विचारको स्पष्टता, विधि–पद्धतिको पालना, सामूहिक नेतृत्व र सन्तुलित नियन्त्रण प्रणाली नै पार्टीको बलियो आधार भएको उनको भनाइ छ।
पोखरेलका अनुसार पार्टीले जनतामाझ आफ्नो स्पष्ट पहिचान र प्रभावलाई अझ मजबुत बनाउनु आवश्यक छ। उनले २०८२ साल मंसिरमा सम्पन्न ११औं राष्ट्रिय महाधिवेशनले यिनै मूल्य र मान्यतालाई अझ उचाइमा पुर्याउने लक्ष्यसहित गहन बहस अघि बढाएको पनि बताए।
उनले सिद्धान्तविहीन सत्ता स्वार्थ, अवसरवाद र व्यक्तिगत लाभका लागि गरिने गतिविधिले पार्टीलाई कमजोर बनाउने चेतावनी दिए। यस्ता प्रवृत्तिबाट टाढा रहँदै संगठनलाई जनमुखी र गतिशील बनाउन सबै नेता–कार्यकर्ता एकजुट हुनुपर्नेमा उनले जोड दिए।
वर्तमान बदलिँदो परिस्थितिअनुसार सोच र व्यवहार सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले एमाले अहिले चुनौतीको घेरामा रहेको बताए। यस्तो अवस्थामा एकता, अनुशासन र स्पष्ट दृष्टिकोणमार्फत मात्रै पार्टीलाई पुनः सशक्त बनाउन सकिने उनको निष्कर्ष छ।
उनले सबै पंक्तिलाई ‘गति अनुसार मति’ सुधार गर्दै पार्टीलाई बलियो बनाउने अभियानमा जुट्न आह्वान गरेका छन्।