लालगढमा सशस्त्र प्रहरी निरीक्षक ४० हजार घुससहित रंगेहात पक्राउ

साझा लाल्टिन संवाददाता

२० चैत,काठमाडौं - धनुषाको लालगढ क्षेत्रमा एक सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति निरीक्षक ओकिल अधिकारी रहेको जनाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले शुक्रबार बिहान उनलाई नियन्त्रणमा लिएको हो। आयोगका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डमा भइरहेको माटो तथा ग्राभेल फिलिङ कार्यमा संलग्न सवारी साधनलाई अवरोध गर्ने, अनावश्यक समस्या सिर्जना गर्ने र त्यसकै बहानामा रकम माग्ने गरेको उजुरीका आधारमा उनीमाथि निगरानी गरिएको थियो।

निगरानीकै क्रममा उनलाई ४० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको स्रोतले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ।

प्रतिक्रिया