भदौ २३–२४ का घटनाले नष्ट मिसिल पुनः संकलन गर्न ३० दिनको म्याद

साझा लाल्टिन संवाददाता

 १३ पुस, काठमाडौं - भदौ २३ र २४ गते काठमाडौंमा भएको आगजनी तथा तोडफोडका घटनाका कारण काठमाडौं जिल्ला अदालतमा क्षति पुगेका मुद्दाका मिसिल पुनः प्राप्तिका लागि थप ३० दिनको समय दिइएको छ ।

काठमाडौं जिल्ला अदालतले सोमबार सूचना जारी गर्दै घटनाबाट नष्ट वा क्षति भएका चालु मिसिलहरूको सूची सर्वोच्च अदालतबाट स्वीकृत भई सूचना पाटी तथा वेबसाइटमार्फत प्रकाशित गरिएको जनाएको छ । विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजात पुनः प्राप्ति तथा प्रमाणीकरणसम्बन्धी निर्देशिका, २०८२ बमोजिम प्रक्रिया अघि बढाइएको अदालतले स्पष्ट पारेको छ ।

सूचनाअनुसार सम्बन्धित मुद्दाका वादी, प्रतिवादी तथा सरोकारवालाले अदालतबाट प्रमाणित प्रतिलिपि वा सम्बन्धित सरकारी निकायबाट जारी भएका सहायक वा प्रमाणित कागजातसहित अदालतमा उपस्थित हुनुपर्नेछ । यसअघि तोकिएको म्याद समाप्त भइसकेकाले २०८२ भदौ २९ गतेदेखि पुनः ३० दिनको समय थप गरिएको हो ।

उक्त अवधिभित्र फिरादपत्र, प्रतिउत्तरपत्र, बयान, वकपत्र, तारिख पर्चा, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, आदेशलगायत मिसिल संरचनासँग सम्बन्धित कागजात अनिवार्य रूपमा पेश गर्न अदालतले आग्रह गरेको छ । 


प्रतिक्रिया