क्रान्तिकारी कम्युनिष्ट पार्टी (एकता पक्षधर)बाट विद्रोह, सयौँ नेता–कार्यकर्ता नेकपामा समाहित

साझा लाल्टिन संवाददाता

काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल (एकता पक्षधर समूह) बाट विद्रोह गर्दै पोलिटब्युरो सदस्यहरू भीम चाँपागाईं र बालकृष्ण ओलीको नेतृत्वमा सयौँ नेता–कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएका छन्।

मंगलबार काठमाडौंस्थित नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता बामदेव गौतमलगायत शीर्ष नेताहरूले चाँपागाईं, ओलीसहित प्रवेश गरेका नेताहरूलाई औपचारिक रूपमा स्वागत गरे। कार्यक्रममा देशभरका विभिन्न जिल्लाबाट सयौँ नेता तथा कार्यकर्ताहरू पार्टी प्रवेश गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले राजनीतिक मूल्यमान्यतामा आधारित आन्दोलनलाई संगठित र प्रभावकारी बनाउन कम्युनिष्ट पार्टीहरूको ध्रुवीकरण प्रक्रिया तीव्र पारेको स्पष्ट पारे। उनले मुलुकमा राष्ट्रिय तागत निर्माण गर्दै देश र जनताको पक्षमा काम गर्न कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूबीचको एकता अपरिहार्य भइसकेको उल्लेख गरे।
“विखण्डन होइन, एकता आजको ऐतिहासिक आवश्यकता हो,” उनले भने।

वरिष्ठ नेता बामदेव गौतमले पार्टीले स्पष्ट समाजवादी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै जनताको दैनिक जीवनसँग जोडिने नीति र कार्यक्रम अघि बढाउन आग्रह गरे। उनले समाजवाद केवल नारामा सीमित नभई व्यवहारमा देखिनुपर्ने बताए।

पार्टी प्रवेशपछि बोल्दै नेता भीम चाँपागाईंले शास्त्रीय ढंगले मात्र कम्युनिष्ट पार्टी चलाएर आजको जटिल राजनीतिक चुनौती सामना गर्न नसकिने धारणा राखे। अर्का नेता बालकृष्ण ओलीले कम्युनिष्ट पार्टीहरू स–साना ‘नाङ्लो पसल’ जस्तै भएर बस्न नहुने बताउँदै सबै वामपन्थी शक्तिहरू एकीकृत भई ‘बृहत् होलसेल पसल’ अर्थात् एक विशाल कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमको सञ्चालन नेता बालकृष्ण ओलीले गरेका थिए। कार्यक्रममा सहभागी नेताहरूले यो एकताले वामपन्थी राजनीतिमा नयाँ ध्रुवीकरण र एकताको संकेत दिएको प्रतिक्रिया व्यक्त गरेका छन्।

प्रतिक्रिया