सर्लाहीमा तीन मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

साझा लाल्टिन संवाददाता

 फागुन,काठमाडौं - सर्लाही जिल्लाको बाँके–सङ्ग्रामपुर सडकखण्डअन्तर्गत खीला गाउँ नजिक बुधबार राति भएको दुर्घटनामा दुई युवाले ज्यान गुमाएका हुन्। ईश्वरपुर नगरपालिका-१३ र हरिपुर्वा नगरपालिकाको सिमाना क्षेत्रमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा हरिपुर्वा–९ मिर्चैयाका ३० वर्षीय मुकेश राय र सोही ठाउँका ३० वर्षीय रामज्ञान राय रहेका छन्। राति करिब ८ बजे भारतीय नम्बर प्लेटका तीनवटा मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा रहेको सूचना पाएपछि प्रहरी चौकी गौरीशङ्करबाट टोली घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार बीआर ३० एआर ३४५८, बीआर ३ एपी ३८–९ र एचपी ५५ सी ६२३ नम्बरका मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। गम्भीर घाइते दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा सामान्य घाइते भएका हरिपुर्वा–९ का २२ वर्षीय बिक्रम राय र ४२ वर्षीय रामविश्वास रायको मोडेल अस्पताल लालबन्दीमा उपचारपछि अवस्था सामान्य रहेको र उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया