०२ चैत,काठमाडौं - मध्यपूर्वमा पछिल्ला दिनहरूमा तनाव झन् चर्किँदै गएको छ। अमेरिका, इजरायल र इरानबीचको टकरावले क्षेत्रीय सुरक्षा अवस्थालाई थप जटिल बनाएको विश्लेषकहरू बताउँछन्। विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा विदेश नीतिलाई धेरैले हालको तनावको एक प्रमुख कारणका रूपमा हेर्न थालेका छन्।
हालै एनबीसी न्युजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले इरानसँग सम्भावित सम्झौता हुन सक्ने संकेत दिएका छन्। तर प्रस्तावित शर्तहरू अझ पर्याप्त नभएकाले वार्ता टुंगोमा पुग्न बाँकी रहेको उनले बताए। उनका अनुसार इरान सम्झौताप्रति इच्छुक देखिए पनि वासिङ्ग्टनले आफ्ना शर्तहरू स्पष्ट रूपमा अघि सारेको छ।
यसैबीच बगदाद नजिकैको विमानस्थल क्षेत्रमा रहेको अमेरिकी दूतावासको संरचनामाथि मिसाइल र ड्रोन आक्रमण भएको खबर सार्वजनिक भएको छ। यस घटनाले खाडी क्षेत्रमा सुरक्षा जोखिम अझ बढेको संकेत दिएको छ।
अमेरिकाले पर्सियन खाडीको महत्त्वपूर्ण मार्ग मानिने होर्मुज जलडमरु हुँदै आवतजावत गर्ने जहाजहरूको सुरक्षाका लागि बहुराष्ट्रिय सैन्य गठबन्धन बनाउने तयारी पनि थालेको छ। द वाल स्ट्रिट जर्नलका अनुसार खाडी क्षेत्रमा जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न यस्तो योजना अघि बढाइएको हो।
यता इरानी विदेशमन्त्री अब्बास अर्गाचीले भने होर्मुज जलडमरु हुँदै हुने समुद्री आवागमनको सुरक्षाबारे वार्ताका लागि इरान तयार रहेको बताएका छन्। यस विषयमा फ्रान्स र इटालीले तेहरानसँग संवाद सुरु गरिसकेको बताइएको छ।
त्यसैबीच इजरायली आक्रमणका कारण लेबनानमा मृत्यु हुनेको संख्या ८५० पुगेको छ। मार्च २ यता भएका आक्रमणमा १०७ बालबालिकासहित सयौं सर्वसाधारण मारिएको र दुई हजारभन्दा बढी घाइते भएको जनाइएको छ।
विश्लेषकहरूका अनुसार अमेरिकाको कठोर रणनीति, इजरायल–इरानबीचको टकराव र खाडी क्षेत्रमा बढ्दो सैन्य गतिविधिले मध्यपूर्वमा दीर्घकालीन अस्थिरताको जोखिम अझ बढाएको छ।