काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा बीच बागलुङ जिल्लामा औपचारिक चुनावी तालमेल भएको छ । दुवै दलले सहमति पत्रमा हस्ताक्षर गर्दै संयुक्त रूपमा निर्वाचनमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सहमति अनुसार बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चालाई नेपाली कम्युनिस्ट पार्टीले सहयोग र समर्थन गर्नेछ भने निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीलाई राष्ट्रिय जनमोर्चाले सहयोग र समर्थन गर्ने भएको छ ।
दुवै दलले आपसी निर्णय र सहमतिलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट केन्द्रीय कार्यालयका गणेशमान पुन र राष्ट्रिय जनमोर्चाका तर्फबाट केन्द्रीय सचिव धनश्याम न्यौपानेले हस्ताक्षर गरेका छन् ।
यो तालमेलले बागलुङमा वामपन्थी शक्तिहरूको एकता सुदृढ गर्दै निर्वाचन परिणाममा महत्वपूर्ण प्रभाव पार्ने राजनीतिक विश्लेषकहरूको अनुमान छ ।