१३ पुस, काठमाडौं - श्री बालज्योति माध्यमिक विद्यालय, चित्रेमा विदाई, स्वागत तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। आज मिति २०८२ साल ०९ महिना १३ गते आयोजित कार्यक्रममा सेवा निवृत्त हुनुभएका कार्यालय सहयोगीलाई सम्मानपूर्वक विदाई गरिएको थियो भने नवआगन्तुक शिक्षक तथा कार्यालय सहयोगीलाई आत्मीय स्वागत गरिएको थियो।
कार्यक्रममा चम्पादेवी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी भई विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न स्थान हासिल गर्ने विद्यार्थी भाइबहिनीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। यस अवसरमा विद्यालयका विद्यार्थीहरूको मेहनत, अनुशासन र खेलकुदप्रतिको लगनशीलताको प्रशंसा गरिएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री रत्नबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री गिरिराज बराल, शिक्षक–अभिभावक संघका अध्यक्ष श्री राजुकुमार बुढाथोकी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वक्ताहरूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, सहकार्य र विद्यार्थीको सर्वाङ्गीण विकासमा सबै पक्षको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका थिए। सम्पूर्ण कार्यक्रम सौहार्दपूर्ण तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको विद्यालयले जनाएको छ।