०९ चैत,काठमाडौं - वरिष्ठ अर्थविद् केशवप्रसाद आचार्यको आज अन्नपूर्ण न्युरो हस्पिटलमा निधन भएको छ। उनी राष्ट्र बैंकका तत्कालीन कार्यकारी निर्देशक तथा अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार थिए।
आचार्यलाई गत मंगलबार बिहान आफ्नै घरमा ब्रेन स्ट्रोक भएको थियो र तुरुन्त मेडिकेयर अस्पताल, चाबहिल र पछि अन्नपूर्ण अस्पतालमा उपचार गरिएको थियो। तर चिकित्सकहरुले आज उनलाई मृत घोषणा गरेका छन्।
आचार्य २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकारले प्रस्तुत बजेटमा उल्लिखित ‘एक सय रुपैयाँ वृद्ध भत्ता’ र ‘आफ्नो गाउँ आफैँ बनाऔं’ कार्यक्रमको टोली सदस्य थिए। उनले राष्ट्र बैंकबाट अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को वासिङ्गटन, डिसी स्थित मुख्यालयमा वरिष्ठ आर्थिक सल्लाहकारको रूपमा दुई वर्ष सेवा गरेका थिए।
उनका एक श्रीमती, एक छोरा र एक छोरी छन् ।। छोरी विदेशमा रहेकाले अन्तिम संस्कार भोलि मध्यान्ह गरिने परिवारले जानकारी दिएको छ।