२२ चैत,काठमाडौं - नेपालमा अवैध रूपमा सञ्चालन हुँदै आएका अनलाइन सट्टेबाजीसम्बन्धी हजारौँ एप र वेबसाइट बन्द गरिएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूसँग समन्वय गर्दै सात हजारभन्दा बढी युआरएल र एप्लिकेशन बन्द गरिसकेको जनाएको छ, जबकि केही अझै प्रक्रियामा छन्।
सरकारले चैत १३ गतेको मन्त्रिपरिषद् बैठकमार्फत शासकीय सुधारसम्बन्धी निर्णय लिँदै २४ घण्टाभित्र सट्टेबाजीसम्बन्धी प्लेटफर्महरू बन्द गर्ने निर्देशन दिएको थियो। यद्यपि कार्यान्वयनमा केही ढिलाइ भए पनि करिब एक साताभित्रै व्यापक रूपमा कारबाही गरिएको हो।
नेपालको कानुनअनुसार मुलुकी अपराध संहिता, २०७४ को दफा १२५(४) ले अनलाइन सट्टेबाजी गर्न र गराउन पूर्ण रूपमा निषेध गरेको छ।
यस कदमको प्रभाव खेल क्षेत्रमा पनि देखिन थालेको छ। विशेषगरी, हरेक वर्ष आयोजना हुँदै आएको नेपाल प्रिमियर लिग (एनपिएल) को भविष्यबारे चासो बढेको छ। यसअघि केही अन्तर्राष्ट्रिय सट्टेबाजी कम्पनीहरूले ठूलो रकम तिरेर प्रतियोगितामा विज्ञापन गर्दै आएका थिए, जसले आयोजनाको आर्थिक व्यवस्थापनमा सहयोग पुर्याएको थियो।
तर अब त्यस्ता कम्पनीहरू प्रतिबन्धमा परेपछि एनपिएललाई आगामी संस्करणहरू सञ्चालन गर्न आर्थिक दबाब बढ्न सक्ने नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले बताएका छन्।