नेपाली कम्युनिस्ट पार्टी बाग्मती प्रदेश सचिवालय सदस्य राजु सापकोटाको दुर्घटनामा निधन

साझा लाल्टिन संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी बाग्मती प्रदेश कमिटी सचिवालय सदस्य तथा धादिङ निवासी कम्रेड राजु सापकोटाको बाइक दुर्घटनामा परि २०८२ साल माघ १८ गते असामयिक निधन भएको छ। उनको निधनको खबरले कम्युनिस्ट आन्दोलन, मजदुर वर्ग र शुभेच्छुकहरूलाई गहिरो शोकमा डुबाएको छ।

वि.सं. २०४६ साल माघ १७ गते धादिङको महादेवशि जन्मिएका सापकोटा हाल थाक्रे गाउँपालिकामा बसोबास गर्दै आएका थिए। उनी चार दाजुभाइमध्ये कान्छा थिए।

कम्रेड सापकोटाले २०६३ सालदेखि माओवादी आन्दोलनमा सेल कमिटीबाट राजनीतिक यात्रा सुरु गरेका थिए। २०६५ सालमा जिल्ला कमिटी सदस्य बनेका उनी २०६९ सालमा नेकपा माओवादीको प्रदेश कमिटी सदस्य बने। त्यसपछि उनले धातु मजदुर संघको केन्द्रीय अध्यक्ष, २०७० सालमा अखिल नेपाल ग्रिल मजदुर संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाले।

२०७९ सालमा उनी क्रान्तिकारी माओवादीको प्रदेश कमिटी सदस्य तथा अखिल नेपाल औद्योगिक मजदुर संघको केन्द्रीय अध्यक्ष बने। त्यसैगरी नेकपा माओवादीको प्रदेश कमिटी सचिवालय सदस्यको जिम्मेवारी निर्वाह गरेका सापकोटा २०८१ सालमा विप्लव नेतृत्वको पार्टीको केन्द्रीय प्रतिनिधि सदस्य बनेका थिए। हाल उनी नेपाली कम्युनिस्ट पार्टी बाग्मती प्रदेश कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा क्रियाशील थिए।

मजदुर वर्गको हक–अधिकार, वर्गसंघर्ष र कम्युनिस्ट आन्दोलनमा निरन्तर समर्पित सापकोटा सरल, निष्ठावान र प्रतिबद्ध नेताका रूपमा चिनिनुहुन्थ्यो।

उनको परिवारमा श्रीमती र तीन छोरी रहेका छन्। पार्टी, सहकर्मी र शुभेच्छुकहरूले स्वर्गीय सापकोटाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

भौतिक रूपमा हामीबीच नरहे पनि राजु सापकोटाका विचार, संघर्ष र योगदान सदैव स्मरणीय रहनेछन्।

प्रतिक्रिया