०४ चैत,काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकार गठनको तयारी तीव्र बनेको छ। प्रस्तावित प्रधानमन्त्री बालेन्द्र साह (बालेन) अहिले सम्भावित मन्त्रिपरिषद् गठनका विषयमा आन्तरिक छलफलमा व्यस्त छन्। पार्टी स्रोतका अनुसार उनले दक्षता र क्षमताका आधारमा मन्त्री चयन गर्ने योजना अघि बढाएका छन्।
रास्वपाले झण्डै दुई तिहाइ बहुमतसहित सशक्त सरकार बनाउने दाबी गरिरहेको छ। यसै अनुसार सरकारको आकार सानो राख्ने र कार्यकुशलता बढाउने रणनीति बनाइएको बताइएको छ। आगामी एक हप्तादेखि दस दिनभित्र नयाँ सरकार गठन गर्ने लक्ष्य राखिएको छ।
सरकार गठनकै तयारीका कारण बालेन पार्टीले आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रममा सहभागी हुन सकेका छैनन्। कार्यक्रम आज समापन हुँदैछ। उद्घाटन सत्रमा पनि उनी र पार्टी सभापति रवि लामिछाने अनुपस्थित थिए।
आज समापन कार्यक्रममा भने सभापति लामिछानेले सम्बोधन गर्ने कार्यक्रम छ, यद्यपि उनी अझै पूर्ण रूपमा स्वस्थ भइसकेका छैनन्। बालेन भने आज पनि कार्यक्रममा सहभागी नहुने सम्भावना रहेको स्रोतको भनाइ छ।
यसैबीच, सम्भावित मन्त्रीहरूको सूचीबारे बालेनले सभापति लामिछानेसँग प्रारम्भिक छलफल गरिसकेका छन्। साथै, आफ्ना निकट सहयोगीहरूसँग नियमित रूपमा बैठक गर्दै सरकार गठनलाई अन्तिम रूप दिन लागिपरेका छन्।