१४ पुस, काठमाडौं - इटहरीमा उपचारका लागि छोरी–ज्वाइँको घर पुगेकी एक महिलाले कहिल्यै नसोचेको अन्त्य भोग्नु परेको छ। भोजपुरबाट उपचारका लागि इटहरी आएकी ५६ वर्षीया पबीमाया बयलकोटी आफ्नै ज्वाइँको हातबाट निर्ममतापूर्वक मारिएकी छन्।
घटनाको आरोपमा मृतककी छोरीका श्रीमान्, ४० वर्षीय गणेश साह गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काका अनुसार मदिराले मात्तिएका गुप्ताले सासूको टाउकोमा ट्युबेलको ह्याण्डलले प्रहार गरी हत्या गरेका हुन्।
प्रहरी अनुसन्धानका अनुसार दुई सन्तानका बुबा तथा पेशाले सवारी चालक गुप्ताले मदिरा सेवन गरिरहेकामा सासू पबीमायाले उनलाई “रक्सी नखानु” भन्दै सम्झाएकी थिइन्। सुरुमा शान्त देखिएका गुप्ता केही बेरमै आक्रोशित बनेर हिंस्रक भएको खुलेको छ।
डिएसपी खड्काका अनुसार पबीमाया सोमबार भोजपुर फर्किने तयारीमा थिइन्। आइतबार साँझ छोरी–ज्वाइँको डेरामा पुगेकी उनी, ज्वाइँ मदिराले अत्यधिक मातेको अवस्थामा भेटेकी थिइन्। सम्झाउने प्रयास नै उनको जीवनको अन्तिम संवाद बन्न पुग्यो।
आक्रमणपछि फरार हुन खोजेका गुप्तालाई प्रहरीले इटहरीबाटै पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो घटना मदिरा दुव्र्यसनले परिवारभित्रै कति भयावह परिणाम निम्त्याउन सक्छ भन्ने अर्को दर्दनाक उदाहरण बनेको छ।