काठमाडौं २५ जेठ - नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा ७० वर्षे उमेर हद फेल खाइसकेको बताएका छन् ।
अनेरास्ववियुको महाधिवेशन उद्घाटन समारोहमा उमेर हद विषय उठे पछी ओलीले अब त्यो फेल भइसकेको बताए ।
अध्यक्ष ओलीले चीन र साइप्रसका कम्युनिष्ट पार्टीले पनि उमेर हद हटाएको उदाहरण दिए । स्वास्थ्यले साथ दिएसम्म र कार्यक्षमता भएसम्म आवश्यकताका आधारमा नेतृत्व गर्न सकिने बताए।
ओलीले भने - अब एमालेमा ७० वर्ष उमेर फेल खाइसक्यो । म ७४ मा छु अब ४ वर्षअघि फर्किने कुरा भएन, ७० मा रिटायर्ड फेल खाएन त ? चीनमा २ पटकमात्र महासचिव र राष्ट्रपति बन्ने व्यवस्था थियो त्यो सी जिनपिङको पालामा निरन्तरताको आवश्यकता देखेपछि हटाइयो । उहाँ अहिले ७२ वर्ष भइसक्नुभयो । त्यहाँ ६५ वर्ष भनेको थियो, साइप्रसको कम्युनिस्ट पार्टीले पनि ६५ वर्ष उमेर हटायो । अब यसमा पार्टीले आफ्नो आवश्यकता आधारमा निर्णय लिन्छ ।