कांग्रेस अब महाधिवेशनमा केन्द्रित हुन्छ: गगन थापा

साझा लाल्टिन संवाददाता

१० चैत,काठमाडौं नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अब पार्टीको सम्पूर्ण ध्यान आगामी महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने बताएका छन्। मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले महाधिवेशनको प्रक्रिया आफूले अघि बढाइसकेको र त्यसलाई अब रोक्न नसकिने स्पष्ट पारे।

उनले विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र कुनै प्रकारको विभाजन वा पूर्वाग्रह राख्न नहुनेमा जोड दिए। विशेष परिस्थितिमा सम्पन्न भएको उक्त महाधिवेशनले नयाँ नेतृत्व दिएको उल्लेख गर्दै त्यसअघिका गतिविधिहरूलाई अबको प्रक्रियामा जोडेर हेर्न आवश्यक नरहेको उनको भनाइ थियो।

सभापति थापाले महाधिवेशनमा सहभागी हुने–नहुने विषयलाई लिएर कसैप्रति नकारात्मक धारणा राख्न नहुने बताउँदै पार्टी एकताको सन्देश दिएका छन्। सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाउँदै उनले नेतृत्वले समावेशी ढंगले महाधिवेशन सफल बनाउनुपर्ने धारणा राखे।

उनले आफूले उपसभापतिहरू र अन्य नेताहरूसँग पनि समन्वय गरेर अघि बढ्ने प्रयास गरिरहेको जानकारी दिए। पार्टीभित्रको एकता र सहकार्यलाई प्राथमिकतामा राख्दै महाधिवेशनलाई सफल बनाउने लक्ष्य रहेको उनको निष्कर्ष थियो।

प्रतिक्रिया