काठमाडौं - नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अझै अनिर्णीत बनेपछि आज पुनः छलफलमा जुट्ने भएको छ। शुक्रबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले सहमतिको प्रयास गरे पनि साझा निष्कर्ष निकाल्न सकेन।
निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार बैठकमा दलको नेतृत्व चयनबारे गम्भीर छलफल भए पनि निर्णय टुंगो लाग्न सकेन। सहमतिमै नेता चयन गर्ने पक्षमा दलभित्र प्रयास जारी रहेको उनले जानकारी दिए।
दलको नेताका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका छन्। साथै मोहन आचार्य र निश्कल राईलगायतका नाम पनि आन्तरिक छलफलमा उठिरहेका छन्।
प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद रहेकाले बहुमतका आधारमा नेता चयन सम्भव भए पनि पार्टीले सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकता दिएको छ। सहमति कायम हुन नसके निर्वाचन प्रक्रियामा जाने विकल्प खुला राखिएको छ।
यसैबीच सहमति जुटाउने अन्तिम प्रयासस्वरूप आज फेरि बैठक बस्ने तयारी गरिएको छ।