काठमाडौं । अमेरिकी राष्ट्रपतिडोनाल्ड ट्रम्पले इरानसँगको वार्ता सफल नभए पुनः सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका छन्। उनले आगामी बुधबारसम्म कुनै “ठूलो सम्झौता” नभए इरान माथि फेरि बमबारी हुन सक्ने संकेत गरेका हुन्।
शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले युद्धविराम अवधि थप्ने सम्भावना न्यून रहेको बताए। “सायद म यसलाई अगाडि बढाउने छैन, तर नाकाबन्दी जारी रहनेछ,” उनले भने, “यदि अवस्था सुध्रिएन भने हामीले फेरि बमबारी सुरु गर्नुपर्ने हुन सक्छ।”
यद्यपि उनले पछिल्ला दिनहरूमा केही सकारात्मक संकेत देखिएको दाबी पनि गरे। “मध्यपूर्वमा Iran सँगको अवस्था राम्रो हुने सम्भावना देखिन थालेको छ,” उनले उल्लेख गरे।
अमेरिका र इरानबीच भएको युद्धविराम सम्झौताको समय आगामी अप्रिल २२ मा सकिँदैछ। यसैबीच पाकिस्तानमा भएको शान्ति वार्ता भने निष्कर्षविहीन बनेको छ। दुवै पक्षबीच फेरि वार्ताको प्रयास हुने संकेत गरिएको छ।
विश्लेषकहरूका अनुसार, वार्ता सफल भए क्षेत्रीय तनाव कम हुन सक्ने भए पनि असफल भए मध्यपूर्वमा पुनः द्वन्द्व चर्किने जोखिम कायमै रहेको छ।