काठमाडौं । नेकपा एमाले ओखलढुंगामा ठूलो राजनीतिक हलचल मच्चिएको छ । पार्टीका प्रभावशाली नेता तथा पूर्वमन्त्री अम्बिरबाबु गुरुङले एमाले परित्याग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । पार्टी प्रवेश लगत्तै नेकपाले उनलाई ओखलढुंगाबाट आधिकारिक उम्मेदवार घोषणा गरेको छ ।
एमालेले आफूलाई उम्मेदवार नबनाएपछि असन्तुष्ट बनेका गुरुङले जिल्ला पार्टीको ठूलो टोलीसहित विद्रोह गर्दै नेकपामा समाहित भएका हुन् । गुरुङको प्रवेशसँगै ओखलढुंगाको चुनावी समीकरण पूर्णतः उल्टिएको छ ।
ओखलढुंगामा एमालेले अस्मिता थापालाई उम्मेदवार बनाएको छ । तर गुरुङजस्ता प्रभावशाली नेताको बहिर्गमनले एमालेभित्र गम्भीर संकट देखिएको छ । स्थानीय स्तरमा बलियो पकड बनाएका गुरुङसँगै ठूलो संख्यामा कार्यकर्ता नेकपामा प्रवेश गरेपछि एमाले संगठन कमजोर बन्न पुगेको विश्लेषण गरिएको छ ।
यसअघि नेकपाले रामकुमार कार्कीलाई ढिलो गरी उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर एमालेबाट असन्तुष्ट बनेर गुरुङ नेकपामा आएपछि कार्कीको उम्मेदवारी फिर्ता लिँदै गुरुङलाई आधिकारिक उम्मेदवार बनाइएको हो ।
गुरुङको उम्मेदवारीसँगै ओखलढुंगामा नेकपाको जित लगभग सुनिश्चित भएको स्थानीय राजनीतिक वृत्तको दाबी छ । एमालेभित्रको विद्रोह र संगठित असन्तुष्ट पक्षको साथ पाएपछि गुरुङको पक्षमा माहोल तीव्र रूपमा सुदृढ बन्दै गएको छ ।