जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न पौडेलको सरकारसँग आग्रह

साझा लाल्टिन संवाददाता

०९ चैत,काठमाडौं नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेन–जी आन्दोलनसँग सम्बन्धित छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारमाथि पुनः दबाब बढाएका छन्। सोमबार बिहान सामाजिक सञ्जालमार्फत् उनले सरकारलाई तत्काल प्रतिवेदन सार्वजनिक गरेर आफ्नो दायित्व पूरा गर्न आग्रह गरेका हुन्।

उनका अनुसार कांग्रेसले यसअघि नै केन्द्रीय कार्यसमिति बैठकबाट उक्त प्रतिवेदन सार्वजनिक गर्न औपचारिक माग गरिसकेको छ। गत ८ चैतको बैठकले पनि यही विषयलाई प्राथमिकताका साथ उठाएको थियो।

गत भदौ २३ र २४ गते भएको जेन–जी युवाहरूको आन्दोलनका घटनाको छानबिन गर्न गौरीबहादुर कार्की नेतृत्वको आयोग गठन गरिएको थियो। सो आयोगले फागुन २४ गते सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन बुझाउँदा आयोगका प्रवक्ता विज्ञानराज शर्माले यसले विगतका आयोगहरूको जस्तो नियति नदोहो¥याउने बताएका थिए।

यद्यपि १ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन ग्रहण गर्ने निर्णय गरे पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन। गृहमन्त्री ओमप्रकाश अर्यालले ‘भोलि सार्वजनिक हुन्छ’ भने पनि त्यसअनुसार काम अघि बढ्न सकेको छैन।

महामन्त्री पौडेलले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ हुनु दुःखद रहेको बताउँदै अन्तरिम सरकारले आफ्नो कार्यकाल सकिन लाग्दा पनि यसलाई गोप्य राख्नु जिम्मेवारीबाट पन्छिनु जस्तै भएको टिप्पणी गरेका छन्। उनले विगतका मल्लिक र रायमाझी आयोगका प्रतिवेदनझैं यो पनि थन्किने जोखिम रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

साथै, प्रतिवेदन सार्वजनिक नहुँदा विभिन्न आशंका जन्मिएको उल्लेख गर्दै उनले कार्की आयोगको प्रतिवेदन किन रोकिएको भन्ने प्रश्नसमेत उठाएका छन्।

प्रतिक्रिया