इरानको घोषणा: मित्र राष्ट्रलाई खुला बाटो, अमेरिकी गठबन्धनलाई कडा प्रतिकार

साझा लाल्टिन संवाददाता

१२ चैत,काठमाडौं इरानले हर्मुज जलघाँटी सम्बन्धी आफ्नो रणनीतिमा स्पष्ट विभाजन देखाएको छ। उसले आफ्ना ‘मित्र राष्ट्र’ का लागि मार्ग खुला राख्दै अमेरिका र उसका सहयोगीहरूका लागि भने कडा अवरोध कायम गरेको संकेत दिएको हो।

इरानी विदेशमन्त्री अब्बास अरागचीको भनाइलाई उद्धृत गर्दै मुम्बईस्थित इरानी कन्सुलेटले जारी गरेको बयानअनुसार चीन, रुस, भारत, पाकिस्तान र इराकतर्फ गइरहेका तेल ट्यांकरहरूलाई हर्मुज जलमार्ग प्रयोग गर्न दिइएको छ। तर अमेरिका र उसका साझेदार राष्ट्रका जहाजहरूलाई भने यो मार्ग पूर्ण रूपमा बन्द गरिएको जनाइएको छ।

इरानले जबर्जस्ती प्रवेश गर्न खोजिए कडा सैन्य प्रतिकार गर्ने चेतावनी समेत दिएको छ। यसबीच, इजरायल र अमेरिकासँग बढ्दो तनावपछि हर्मुज क्षेत्र थप अस्थिर बनेको छ, जहाँ केही जहाजमाथि आक्रमणका घटनासमेत सार्वजनिक भएका छन्।

विश्व ऊर्जा आपूर्तिको अत्यन्तै संवेदनशील मार्ग मानिने हर्मुज जलघाँटी बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा तेल र ग्यास आपूर्तिमा गम्भीर असर पर्ने चिन्ता बढेको छ।

यसैबीच, हर्मुज खुलाउन विभिन्न प्रयासमा जुटेको अमेरिका पछिल्लो समय प्रत्यक्ष दबाबको साटो वार्ता र युद्धविरामको प्रस्तावतर्फ उन्मुख भएको देखिन्छ।

प्रतिक्रिया