संसदमा भूमिकाबारे दुई जना अनुभवीले नेकपाका सांसदलाई मार्गदर्शन गर्ने

साझा लाल्टिन संवाददाता

१५ चैत,काठमाडौं नेपाली कम्युनिष्ट पार्टीले आज दिउँसो आफ्नो संसदीय दलको बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा बोलाएको छ।

बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नयाँ निर्वाचित सांसदहरुलाई संसदभित्रको जिम्मेवारी र भूमिका सम्बन्धमा मार्गदर्शन दिने बताइएको छ। साथै, सांसदहरुलाई कानुन निर्माण प्रक्रिया बुझाउन पूर्व सचिव राजेन्द्र फुयाँल र पूर्व सांसद खिमलाल देवकोटाले विशेष ‘ओरिन्टेशन’ कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको छ।

प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार, बैठकले दलको नेता पदमा प्रचण्डलाई चयन गर्ने तयारी पनि गर्दैछ।

बैठकले समसामयिक राजनीतिक घटनाक्रममा पार्टीको आधिकारिक धारणा पनि सार्वजनिक गर्ने छ। पछिल्लो ३० घण्टाभित्र बालेन्द्र साह नेतृत्वको सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, र पूर्व उर्जामन्त्री दीपक खड्कालाई पक्राउ गरेको छ।

पार्टीको प्रारम्भिक विश्लेषण अनुसार, यस घटनामा सरकारको अनुसन्धान र छानबिनमा प्रतिशोधको भाव देखा परेको छ।

प्रतिक्रिया