काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका अम्बिरबाबु गुरुङलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले औपचारिक समर्थन जनाएको छ ।
खिजीदेम्बा गाउँपालिकामा पालिका अध्यक्षसहित तीन वडाध्यक्ष जितेको बलियो आधार भएको जसपा नेपालले तारा चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका गुरुङलाई सघाउने निर्णय गरेको हो ।
जसपा नेपालका नेता तथा खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले ओखलढुंगाको समग्र विकासमा योगदान पुर्याएका र समृद्धिको स्पष्ट भिजन भएका उम्मेदवार भएकाले गुरुङलाई समर्थन गरिएको बताए ।
‘यसपटक विकासवादी नेतालाई जिताउने हो,’ शेर्पाले भने, ‘अम्बिर गुरुङ निश्वार्थ भावले जनताको पक्षमा र विकासको अभियानमा खट्ने नेता हुन् भन्ने कुरा यसअघि नै पुष्टि भइसकेको छ । उहाँ हार्दा जिल्लाको विकास नै हारेको थियो । त्यसैले यसपटक पार्टी र साथीभन्दा माथि उठेर तारामा मतदान गरेर जिल्लाको विकासमा योगदान गर्न मतदातालाई आग्रह गर्छु ।’
अध्यक्ष शेर्पा र जसपाका अर्का नेता खेमराज खड्कासहितका नेताहरू सुरुदेखिनै गुरुङको उम्मेदवारीमा कार्यगत एकता गर्दै लागेका छन् । खिजीदेम्बा, मानेभञ्ज्याङ, मोलुङ, सिद्धिचरण र चिशंखुगढीसहित सबै पालिकामा जसपाको संगठन सक्रिय रहेको र अब नेताहरू गुरुङलाई जिताउन चुनावी अभियानमै जोडिने भएका छन् ।
एमालेभित्र जिल्लामा बर्चस्व कायम गरेका गुरुङलाई कार्यकर्ताको माग र जिल्लाको सिफारिस हुँदाहुँदै पनि पार्टी केन्द्रले टिकट नदिएपछि उनी नेकपाको तारा चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका हुन् । उनको उम्मेदवारीसँगै ओखलढुंगाको चुनावी सरगर्मी तीव्र बनेको छ ।
गुरुङ यसअघि पाँच वर्ष प्रदेशसभाको सांसद तथा केही समय मन्त्री हुँदा जिल्लामा १० अर्ब रुपैयाँभन्दा बढी विकास बजेट ल्याएर चर्चामा आएका नेता हुन् । जसपाको समर्थनसँगै अब ओखलढुंगामा चुनावी प्रतिस्पर्धा झन् रोचक बन्ने देखिएको छ ।